रामचन्द्र पौडेलका नाममा जुट्ला त सहमति !

रामचन्द्र पौडेलका नाममा जुट्ला त सहमति !

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाडौंमा सुरु भएको छ । सत्तारुढ दल काँग्रेसको महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि सँगसँगै चर्किँदै गएको छ । नेतृत्व परिवर्तनका निम्ति आयोजना गरिएको महाधिवेशनबाट को आउला नेतृत्वमा भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

नयाँ नेतृत्वका निम्ति संस्थापन पक्षले वर्तमान सभापति शेरबहादुर देउवालाई नै सभापतिको उम्मेदवार बनाउने तयारी गरेका बेला संस्थापनइतर पक्षले भने हालसम्म उम्मेदवार टुंग्याउन सकेको छैन । सहमतिमा साझा उम्मेदवार छान्न संस्थापनइतर समूहले पहल गरिरहेको भए पनि सभापतिको आकाँक्षी धेरै हुँदा साझा उम्मेदवार छान्न सकस परेको छ । 

साझा उम्मेदवारका विषयमा छलफल गर्न संस्थापनइतर समूहले आज बेलुकी ५ बजे बैठक बोलाएको छ । भृकुटीमण्डपमा आयोजना गरिएको उद्घाटन कार्यक्रम सकिए लगत्तै उक्त पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल कार्यक्रम राखेको छ । 

शुक्रबार बिहान छलफलका लागि पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीसहितलाई राखेर बेलुकी पुनः बैठक बस्ने जानकारी दिएका थिए । अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेताहरू पौडेललाई भेट्न बोहराटार पुगेका थिए ।

बेलुकीको बैठकबाट साझा उम्मेदवार टुंगो लगाउने संस्थापनइतर पक्षको तयारी छ । यदि छलफलमा सहमति जुट्न सकेन भने साझा उम्मेदवारको रूपमा रामचन्द्र पौडेललाई अगाडी सार्ने उक्त समूहको तयारी रहेको एक नेताले बताए । उम्मेदवार छान्न धेरै ढिला भइसकेकाले अब ‘बोल्ड’ डिसिजन लिएर अघि बढ्ने बेला भइसकेको ती नेता बताउँछन् । नेताहरूलाई दबाब दिने बेला आएको उनको भनाई छ । ‘बेलुकीको बैठकमा चारैजना सभापतिका दाबेदारलाई राखेर सहमतिका लागि दबाब दिन्छौँ’, ती नेताले भने, ‘यदि त्यसो गर्दा पनि नभएमा सभापतिको साझा उम्मेदवारको रूपमा रामचन्द्र दाइलाई नै अघि सार्ने तयारीमा हामी लागेका छौँ । उम्मेदवार तय गर्न निकै ढिला भइसकेको अवस्था छ । अब ‘बोल्ड डिसिजन’ लिनुपर्छ ।’

कांग्रेसका नेता अर्जुननरसिंह केसीले संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेल नै सभापतिका साझा उम्मेदवार हुने दाबी गरे । बेलुकीको छलफलबाट पनि कुनै निष्कर्ष नआएमा पौडेललाई नै साझा उम्मेदवारका रूपमा अगाडी सारिने नेता केसीले बताए । ‘शेखर र प्रकाशमान सहमतिमा आउनु भएन भने हाम्रो तर्फबाट रामचन्द्र नै साझा उम्मेदवार हुन्’, नेता केसीले भने । 

कांग्रेस संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका आकाँक्षी रहेका छन् । नेता कार्यकर्ताहरूले एकजना साझा उम्मेदवार छनौट गर्न दबाब दिइरहँदा इतर समूहले भने साझा उम्मेदवार छान्न सकिरहेको छैन ।

नेता शशांक कोइरालाले पौडेलको नाममा सहमति जुट्ने भए आफू दाबी नगर्ने बताउँदै आएका छन् । यद्यपि पौडेल साझा उम्मेदवार नभए आफूले पनि उम्मेदवारी दिने उनको भनाई छ । यता, प्रकाशमान सिंह र शेखर कोइराला भने आफू नै साझा उम्मेदवार हुनुपर्ने दाबी गर्दै यदि आफ्नो नाममा सहमति नभएमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

पौडेललाई निधिको साथ

यता सभापतिको उम्मेदवारी घोषणा गरेका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ दिने प्रस्ताव अगाडी सारेका छन् । देउवाको साथ छाडेर उम्मेदवारी घोषणा गरेका नेता निधिले पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव अघि सारेका हुन् ।

संस्थापन पक्षले देउवाको नाममा सहमति गरेर उम्मेदवारका रूपमा देउवालाई अगाडी सारिसक्दा संस्थापनइतर पक्ष भने आन्तरिक किचलोमै अल्झिरहेको छ । महाधिवेशनको कार्यतालिका अनुसार शनिवार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । इतर पक्षले उम्मेदवार टुंग्याउन सकस परिरहेका बेला त्यसको फाइदा देउवा पक्षलाई हुने देखिन्छ ।

Logo