एसिड आक्रमण पीडित पवित्रा कार्कीलाई निःशुल्क कानुनी सहयोग गरी चर्चामा आएकी अधिवक्ता राधिका खतिवडाले नेपालगञ्जका नन्कुन्नी धोवी र निर्मला कुर्मीको हत्याका दोषी पत्ता लगाउन न्यायिक लडाईं लड्ने भएकी छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार हराएर त्यसको खोजीमा बाँकेबाट काठमाडौं आएका अभियन्ता रुवी खानहरुको अभियानमा साथ दिन निःशुल्क बहस गर्ने र न्यायको लागि लडिरहने प्रतिबद्धता खतिवडाले ब्यक्त गरिन् । अन्यायमा परेका धोवी र कुर्मीलाई न्याय दिलाउनका लागि आफू निःशुल्क कानुनी लडाईं लड्ने प्रण गरेको अधिवक्ता खतिवडाले बताइन् । ‘गम्भीर मानवअधिकार उल्लंघनको यो घटनामा संलग्न जोसुकै होस् निष्पक्ष अनुसन्धानको माग गर्दछु। साथै पीडितको पक्षमा निःशुल्क बहस गर्ने, यिनको न्यायको अभियानमा साथ दिने प्रतिबद्धता व्यत गर्दछु’, अधिबक्ता खतिवडाले भनिन्।
नेपालगंजका नन्कुन्नी धोवी र निर्मला कुर्मीलाई दाइजो नल्याएको निहुँमा चरम यातना दिई हत्या गरिएको घटना सार्वजनिक भएको छ। दुवैलाई गम्भीर मानव अधिकारको उल्लंघन गरी परिवारकै सदस्यको मिलेमतो र योजनामा हत्या गरिएको थियो। यो घटनामा केही हाईप्रोफाइलका व्यक्तिको मिलेमतोमा प्रहरीले अहिलेसम्म गम्भीर अनुसन्धान नगरेको अभियन्ताहरुकाे गुनासो छ। बाँके प्रहरीले उक्त घटनाका अभियुक्तहरुलाई पक्राउ गरेपनि राजनीतिक दबाबमा छाडिएको थियो।
धोवी र कुर्मीको हत्या गर्ने आरोपीलाई प्रहरीले पक्राउ नगरेपछि महिला अधिकार सञ्जालकी अध्यक्ष रुबी खानको नेतृत्वमा १६ जनाको टोली न्याय माग्दै असोज १ गते नेपालगञ्जबाट पैदलै काठमाडौँ हिँडेको थियो। उक्त टोली नेपालगञ्जबाट न्यायको खोजीमा २० दिन लामो पैदलयात्रा गरी २०७८ असोज २१ गते काठमाडौं आइपुगेको थियो। न्यायका लागि बाँकेका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिंदा पनि दोषीलाई पक्राउ नगरिएपछि नेपालगंज–काठमाडौंमार्च सुरु गरिएको थियो। नेपालगंज–काठमाडौं मार्चको दबाबपछि सरकारले ६ सदस्यीय छानबिन समिति समेत गठन गरेको भएपनि छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन। कात्तिक २२ गते समातिएका अभियुक्तलाई पनि सरकारले छोडेको छ। जसले गर्दा पीडितहरुले थप पीडा महसुस गरेका छन्।
धोवी र कुर्मी हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउन अभियन्ताहरुले दैनिक कलंकीबाट माइतीघर मण्डलामा पैदलै आउने र दिनभर धर्ना दिएर फर्किने गरेका छन्। निर्मला कुर्मीको अपहरण गरी हत्या भएको थियो भने नन्कुन्नी धोवीलाई घरेलु हिंसापछि हत्या गरिएको थियो । नन्कुनी धोवी साउन ६ गते बिहान उनी घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
निर्मला कुर्मीको करोडौँको सम्पत्ति हत्याउन अपहरणपछि हत्या भएको दावी गर्दै २०७७ चैत २० गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिए पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन। अपरण हुनुअघि कुर्मीले सभाषद बादशाह कुर्मीका बिरुद्ध पटक पटक आफूमाथि हिंसा गरेको, धम्की दिएको उजुरी दर्ता गरेकी थिइन् । तर प्रहरीले बादशाह कुर्मीलाई पक्राउ नै गर्न सकेको छैन।





























प्रतिक्रिया