नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेद्वार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन्। १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापनइतरबाट साझा उम्मेदवार भएर हारकाे बदला लिने रणनीतिमा उनी थिए।
तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनाे बन्दै गएकाे हाे । किन कि सभापतिका आकांक्षी शशांकले काेइरालाले तीन दिन अघि नै 'रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने' बताएका थिए ।
तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।
देउवालाई सिटाैलापछि श्रेष्ठकाे साथ
१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुन: सभापतिकाे दाबेदारीमा छन्। इतर पक्ष उपगुटमा चुनाव लड्ने माहाेल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन्।
देउवालाई नेता कृष्णप्रसाद सिटाैलाले साथ दिइसकेका छन् । यसअघि आफू पनि सभापतिकाे आकांक्षी बताउँदै आएका नेता गाेपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।
देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए। तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन्।
शुक्रबारबाट सुरु भएकाे कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ताकाे कार्यतालिका छ। निर्वाचन भने साेमबार हुनेछ।





























प्रतिक्रिया