महाधिवेशनले कांग्रेसका परम्परागत गुट पूरै अस्तव्यस्त, पाैडेल समूह विभाजित भएर आधा दर्जन

महाधिवेशनले कांग्रेसका परम्परागत गुट पूरै अस्तव्यस्त, पाैडेल समूह विभाजित भएर आधा दर्जन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेस भित्रका परम्परागत समूहमा विभाजन देखा परेको छ।

१३औं महाधिवेशनमा देखा परेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ। 

कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेद्वारी दिने भएका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ। 

महाधिवेशनको रौनकमा अप्ठ्यारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन्। पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसकेका छन्।

पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा छन्। विगतमा पौडेल समूहमा रहेका गुरुङले सभापतिको उम्मेद्वारी दर्ता गराइसकेका छन् भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेद्वारी बनाउँदै प्रारम्भिक टिम घोषणा गरेका छन्।

उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेद्वारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गरेका छन्। विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेद्वार बनेका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिएका छन्।

थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुगेका छन्। प्रदीप पौडेललाई महामन्त्री तथा शिव हुमागाइँ र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेद्वार बनाउनु पर्ने अडान राख्दै सिटौला देउवानिकट पुगेका छन्।

Logo