पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताएका छन् ।

एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले शनिबार दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको बताए । 

“पार्टी गठन भएको छोटो समयमै उत्साहजनक रुपमा आकर्षण बढिरहेको छ, यसलाई कायम राख्न सबै लाग्नुपर्छ”, उनले भने “पार्टीमा आउने सबैलाई उचित जिम्मेवारी दिइनेछ ।” एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले आगामी चुनावपछि पार्टी झन् बलियो हुने जिकिर गरे । 

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताए । “विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्”, उनले भने “आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।”

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठले जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन गरिएको बताए ।

Logo