संसदको हिँउदे अधिवेशनः ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’

संसदको हिँउदे अधिवेशनः ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिए। सभामुख सापकोटाले भने,“सदन सहमतिका साथ अघि बढाउन म तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा  संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु। यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँ कतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ। ”

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने बताए। उनले भने, “संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढ्छ। प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न  हरसम्भव प्रहल र प्रयत्न हुनेछ।” 

नेकपा (एमाले)का सांसद गणेश पहाडी स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिए।
 
उहाँले भन्नुभयो,“हिउँदे भन्ने वित्तिकै विधेयक अधिवेशन हो, संसदमा पहिलेदेखिनै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकलाई टुङ्गोमा पुर्याउनु पर्नेछ, संसदमा टेबल भएका अरु विधेयकमाथि छलफल गर्न पर्नेछ । ”संसद् भोलिबाट सुरु हुन लागे पनि कार्यव्यवस्थाको बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेण्डा तय गर्ने भन्ने सन्दर्भमा कुनै सरसल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढङ्गले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिए। 
 
संसदीय व्यवस्था भएका मुलुकमा संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी भएको बताउँदै उनले भने,“सल्लाह र छलफलबिना अघि बढ्न खोज्यो भने स्वभाविकरुपमा समस्या आउँछ, अघिल्लो अधिवेशन अवरुद्ध गरिरहेकै बेला स्थगित भएका हाम्रा एजेण्डा थाँति नै छन्।” 

सांसद पहाडीले सदनलाई कसरी नियमितरुपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरुपमा पहल र अग्रसरता लिनुपर्नेमा जोड दिए। राष्ट्रियसभा सदस्य रामनारायण विडारीले समयमा कानुन नबन्दा अनेकौ व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानुन निर्माणमै केन्द्रित तुल्याउन आवश्यक रहेको बताए।

 उनले भने, “अदालतले जनप्रतिनिधिको थलो संसद् क्रियाशील हुनुपर्छ भन्ने मान्यताकासाथ व्यूँत्याएकाले विधेयक पास गर्ने क्रममा सदन सक्रिय हुनुपर्छ, यसबीचमा जारी भएका अध्यादेशलाई पारित गर्नु पर्छ।”सदन सञ्चालन भए पनि मुलुकका जल्दाबल्दा विषय एमसिसी र न्यायालयलयसँग जोडिएर आएका प्रश्नका विषय छलफलका लागि स्वभाविक रुपमा प्रवेश पाउने बताउँदै राष्ट्रियसभा सदस्य विडारीले संविधानको मर्म र भावना अनुरुप कानुन निर्माणमै सदनलाई केन्द्रित तुल्याउनु पर्ने धारणा व्यक्त गरे।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टका कारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिए। उनले भने, “मङगलबारदेखि प्रारम्भ हुने सङ्घीय संसद्को दुवै सदनको प्राविधिक, स्वास्थ्य मापदण्ड र सिट व्यवस्थापनलगायतका तयारीबारे सभामुखबाट अवलोकन भइसकेको छ। अधिवेशनका सबै तयारी पूरा भएको छ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्गलबार दिनको २ बजे बस्ने गरी मङ्सिर १७ गते आह्वान गरेकी थिइन्।

यसअघि संसद् भवन परिसरमा  सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराएका थिए।

Logo