नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेद्वार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्याइरहेका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन्। कोइरालाले ११७८ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
पहिलो राउण्डमा सभापति जित्न २३४० मत आवश्यक
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको मतदानमा चार हजार ६७९ मत खसेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ ले मतदान गरेका हुन् । मतदानमा ६४ जना अनुपस्थित भए ।
नेपाली कांग्रेसको विधानअनुसार सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुल खसेको मत चार हजार ६७९ मा सभापति बन्न २ हजार ३४० मत आवश्यक छ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएकाे छ।
महाधिवेशनअन्तर्गत भृकुटीमण्डपका दुई स्थान र सभागृहमा गरी तीन ठाउँबाट मतदान भएको थियो।





























प्रतिक्रिया