वागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री विशाल खड्कालाई गृह जिल्ला दोलखामा स्वागत गरिएको छ । खड्काले प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई संविधानले नै मान्यता दिएको र राजनीतिकरुपमा विभेद नगरी आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र कानुनको अधीनमा रही नागरिकको आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल दोलखाले चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा राम्रा राम्रा काठ पर्याप्त मात्रामा हुँदाहुँदै बाहिरी देशबाट काठ आयात हुने तथा वनसम्बन्धी कार्य गर्न कानुनी समस्या भएको हुँदा आफूले त्यस विषयमा अध्ययन गरी सुधारका लागि पहल गर्ने बताएका छन् ।
काठ वितरणसम्बन्धी कानुनमा सुधार गरेर वातावरणीय हिसाबले प्रयोग गर्ने मिल्ने रुख कटानी गरी त्यसको वितरण सहज गराउन आफूले प्रयत्न गर्ने मन्त्री खड्काले बताए । उनले दोलखाबाट आफू प्रदेशसभा सदस्य हुँदा तत्कालीन नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचित भएको र अहिले कांग्रेससँगको गठबन्धनको सरकारमा मन्त्री भएको हुँदा सबै मतदाताको मतको कदर गर्नुपर्ने दायित्व रहेको स्मरण समेत गरेका छन् । प्रदेश सरकारको मन्त्री नियुक्त भएपछि पहिलो पटक दोलखा आएका मन्त्री खड्कालाई विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन् ।





























प्रतिक्रिया