प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ। संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो। बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएको बुझिएको छ।
सर्वदलीय बैठकमा संसद्लाई सुचारु गर्ने र अमेरिकी परियोजना एमसीसीलाई अघि बढाउने विषयमा छलफल हुनेछ। प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसदमा टेबल गर्ने तयारी गरेका छन्। त्यसका लागी उनले सबै दलहरूसँग छलफल गर्न लागेको स्रोतको दाबी छ। उनले दलहरुबीच सहमति नभए पनि प्रस्ताव अघि बढाउने तयारी गरेका हुन्। यद्यपि एमसीसीलाई अघि बढाउने विषयमा सत्तारुढ दलभित्रै समेत विवाद छ।
सहभागी होला त एमाले ?
संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ देखी संसद् बैठक अवरोध गरिरहेको छ। आफ्नो दलले कारबाही गरेका १४ सांसदहरूको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेका कारण एमाले रुष्ट छ । सर्वदलीय बैठकमा जाने वा नजाने निश्चित भएको छैन। एमालेले नेकपा एस सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ।
आफ्नो पार्टीलाई बैठकबारे कुनै जानकारी नआएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘हामीलाई अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त भएको छैन। बैठक बस्ने हल्ला बाहिर नै सुनिएको छ,’ उनले भने, ‘एमालेले संसदमा उठाएको मागलाई सम्बोधन गर्न सर्वदलीय बैठक बोलाएको हो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिधा संवाद गरे भयो। होइन भने गठबन्धन पार्टीको बैठकमा साक्षी बस्न हामी उपस्थित हुन जाँदैनौँ।’





























प्रतिक्रिया