न्युटनले भन्दा हजारौँ वर्ष पहिले भाष्करले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए: केपी ओली (भिडियाे)

न्युटनले भन्दा हजारौँ वर्ष पहिले भाष्करले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए: केपी ओली (भिडियाे)


नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारेका छन् । संस्कृति बचाऊ अभियन्ताहरूसँग बुधवार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरूसँग अरू कसैले तुलना हुन नसक्ने बताएका हुन् । 

उनले सभ्यताको ज्योति यहाँ बलेको र अरूले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचन समेत दिएका छन् । अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरेका छन्  । उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गरेका छन् । 

उनले अष्टावक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेकोमा गुनासो व्यक्त गरेका छन् । अध्यक्ष ओलीले भने, ‘हाम्रो पूर्वजहरूसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले र सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गईहाल्छ त । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरू एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरुलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यसकारण हाम्रो ज्ञानचाँही पछाडि पर्‍यो । उनीहरूको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । यी विद्धानहरूको त कुरै छैन । फष्ट फिलोसफर को थिए ? भन्दाखेरी शुकराज । शुकराजभन्दा हजारौैं वर्ष अगाडि अष्टावक्रजस्ता फिलोसफरहरुको कुरै छैन । त्यसकारण यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन्–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरूको सृजना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौँ । त्यसलाई जोगाउनु पर्छ । तपाईँहरूको यो जोगाउने प्रयासलाई धेरै धेरै प्रशंसा गर्दछु । धन्यवाद भन्छु । र तपाईँहरूको अभ्यास कायम राख्नुस् । मेरो आफ्नो ठाउँबाट तपाईँहरूको अभ्यासलाई साथ छ ।’

अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताए । उनले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताए ।

 

Logo