नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए । सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे।
सांसद कोइरालाले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेको छ । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् । धेरै कुराहरु छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएका छैनन् । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ ।
शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो। यसले ट्रान्समिशन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपति कसैले दिँदैन । यसको पछि उनीहरुको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ।’
सांसद कोइरालाले अमेरिकाले दिए जस्तो एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेकोसमेत दाबी गरे।





























प्रतिक्रिया