मतपत्रमा चुनाव चिह्नको रंगले मतमा प्रभाव पर्छ ?, के भन्छ आयाेग?

मतपत्रमा चुनाव चिह्नको रंगले मतमा प्रभाव पर्छ ?, के भन्छ आयाेग?

केन्द्रबिन्दु
0
Shares

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो। सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रंगको हुने बताएको थियो । 

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ। मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको आरोप लगाए। कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो। 

'के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? के का लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?' ओलीको प्रश्न थियो । 

उनले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी गरे । मतपत्रमा हुने चिह्नको रंगले मतपरिणाममा प्रभाव पर्ने संकेत ओलीको थियो।

तर, निर्वाचन आयोगले भने यसअघिका निर्वाचनमा देखिएको समस्या समाधानका लागि यस्तो निर्णय गरिएको दाबी गरेको छ। पहिला मतपत्र नीलो रातो हुँदा र स्वस्तिक पनि नीलो हुँदा गणनामा समस्या भएको आयोगको दाबी छ। पहिलेको पत्र नीलो रातो हुँदा स्वस्तिक छाप पनि नीलो हुने भएकाले गणना गर्दा स्पष्ट नभएपछि चिह्न हरियो बनाइएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै निलो हुँदा गणनामा स्पष्टरुपमा नदेखिएकोले यसलाई प्रष्ट देखिने बनाउन खोजिएको बताए । 

'चिह्न, धर्का र छापसमेत निलो हुँदा स्पष्ट रुपमा देख्न सकिएन' उनले भने, ' यसलाई चहकिलो बनाउन खोजिएको हो।' तर, एमाले अध्यक्ष ओ‌लीले भने मतपत्रमा चिह्नको रंग फेर्ने त्रुटि आयोगले सच्याउनु पर्ने बताए। 

यदि हरियो राख्ने निर्णय गरेको हो भने, होइन भने सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनु पर्छ । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनु पर्छ। हरियो सरियो हुँदैन' ओलीले भने।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर हरियो रंगको जानकारी दिएको थियो। 'स्थानीय तहको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो एसकेड्यास-३०८१ स्पेसक्ट्रम ब्राइट ग्रीन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ। २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ।

Skip This
Skip This
Logo