पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् ।
शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्णरुपमा उखेलिने बताए ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे । उनले निजामती कर्मचारीहरुले पूर्णरुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गरे । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतिक पार्टीहरु भएको बताए ।
अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला गर्यो । र सरकारलाई असहयोग गर भनेर नेपाली कांग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ । कर्मचारीलाई असहयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? सिस्टम विरोधी सोच हो । लोकतन्त्र विरोधी सोच हो । तानाशाहीको अर्को रुप हो त्यो । त्यो रकेर्ड नेपाली कांग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ भने आफू होइन, अर्को पार्टी सरकारमा भएको हुनाले कर्मचारीहरुले असहयोग गर? कर्मचारीले सरकारलाई सहयोग नगर्न मिल्छ ? कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईंहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन । नेपाली कांग्रेसका नेताहरुले सुनुन्, आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईंहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईंहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ । भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’
अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए । उनले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको बताए । अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताए । उनले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताए । अध्यक्ष ओलीले अहिले चुनावमा जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँभन्दा प्रतिगमन भनेर रोइरहेको बताए ।
अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिए । उनले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गरे । अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशतभन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताए । उनले एमालेलाई अदालतबाट हटाउनेहरुले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बडारेर लैजाने बताए । उनले एमालेरुपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने दाबी गरे ।
अध्यक्ष ओलीले (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए । उनले स्वार्थी र कमजोर टेको परेकाले पूरा सरकार चलाउन नसकेको बताए । अध्यक्ष ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको पनि बताए ।





























प्रतिक्रिया