नेपाल परिवार दलले सुदुरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी अभियान शुरु गरेको छ।
परिवार दलले भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ ढकालले आगामी हुन गइरहेको आसन्न स्थानीय निर्वाचनको लागि तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष ढकालले पुराना राजनीतिक दलहरुको दाेहाेराे चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले विकल्पको खोजी गर्नुपर्ने बताए।
कैलाली र कन्चनपुरका सयौं अगुवा कार्यकर्ताहरुको सहभागिता रहेका प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सत्ता र सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा दुःख पोख्दै नेपाली जनताले धेरै पीडा पाएको र उनीहरूका गाँस, बास, कपास जस्ता न्युनतम आधारभूत आवश्यकता पनि पुरा हुन नसकेको बताए ।
उनले कथित ठूला भनिने नेपालका राजनीतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताए। तीन घन्टासम्म सन्चालन भएको प्रशिक्षण कार्यक्रमममा नेता ढकालले नेपाल परिवार दल नयाँ विचारका साथ एक बैकल्पिक पार्टीको रुपमा उदाएको पार्टी भएको र यसले सबै खाले विभेदको अन्त्य गर्दै नयाँ नेपाल निर्माण गर्ने महान् अभियानमा अगाडि बढेको बताए। उनले कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए र यसको शुरुवात पनि सुदुरपश्चिमबाट भएको बताए।
दलका महामन्त्री प्रकाशबाबु थापाले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउँदै आफ्नो पार्टी युवामैत्री रहेको पनि जिकिर गरे।
परिवार दलको कन्चनपुर जिल्ला कार्यसमिति र पीस फोर्स जिल्ला कार्यसमितिको पनि गठन भएको छ । जसमा ३१ सदस्यीय कन्चनपुर जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेम परियार र १५ सदस्यीय पीस फोर्स अध्यक्षमा प्रेमराज गिरी चयन भएका छन्।
सोही कार्यक्रममा विभिन्न दल परित्याग गरि १२० जना नेपाल परिवार दलमा प्रवेश गरे । उनीहरुलाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले पार्टी सदस्यता प्रदान गरेर स्वागत गरे । दलका केन्द्रीय सदस्य खडग नगरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय शंकर ढकाल, बिष्णु बिक, नेपाल प्रवाशी परिवार भारत दिल्ली राज्य समिति अध्यक्ष मन्जु सेवान लगायतका नेताहरुको सहभागिता रहेको थियो।































प्रतिक्रिया