बनेपा पुगेर गगन थापाले भने, ‘निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नुहुन्न’

बनेपा पुगेर गगन थापाले भने, ‘निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्नुहुन्न’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए। 

“पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, पूर्वमन्त्रीसमेत रहेका थापाले भने। निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहोर्याए । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे । 

थापाले भने, “मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ।” निर्वाचनमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो। महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेता कार्यकर्तालाई आग्रह गरे। “हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौं भनेर योजनासहित जनताको जानुपर्छ”, उनले भने। 

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरि जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उनले ठोकुवा गरे। उनले भने, “हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ।” 

सो अवसरमा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेका थिए भने अन्य दलबाट कांग्रेसमा नवप्रवेशी करिब २०० जनालाई क्रियाशील सदस्यता प्रदान गरेका थिए। आयोजकले १४औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो।   

कार्यक्रममा पार्टी केन्द्रीय सदस्यत्रय मधुप्रसाद आचार्य, उर्मिला केसी र गणेश लामा, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, प्रदेश महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्रीय सभापतिद्वय महेश खरेल र दिनेश लामा, प्रदेशसभा क्षेत्रीय सभापति रामहरि श्रेष्ठलगायतले नवप्रवेशीलाई बधाई एवं शुभकामना ज्ञापन गर्दै पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’मा दत्तचित्त भएर लाग्न आग्रह गरेका थिए। 

Logo