नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई कामको मुख्य केन्द्रविन्दु मान्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुदृढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ।
प्रदेश कमिटीले साेमबार सर्कुलर जारी गर्दै तत्कालै प्रदेशअन्तर्गत वडा, पालिका र जिल्लास्तरमा पार्टी काम अगाडि बढाउन, माथिल्लो कमिटीबाट प्राप्त निर्देशन र आफ्ना कमिटीले गरेका निर्णयको कार्यान्वयन गर्न, चैत महिनाभित्र राजनीतिक विषयमा प्रशिक्षण सम्पन्न गर्न आग्रह गरेको हो।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा र प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न प्रदेश कमिटीको हालैको बैठकले कार्ययोजना तय गरेको थियो। चैतभित्र हरेक जिल्ला तहमा जनसङ्गठन समन्वय संयन्त्र बनाई उक्त संयन्त्रको बैठक र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरि योजना तयार पार्ने तथा चैत २० भित्र जनसङ्गठनका जिल्ला अधिवेशन सम्पन्न गर्ने तय गरिएको प्रदेश कमिटीका उपसचिव एवं महेश बर्ताैलाले जानकारी दिए।
प्रचारप्रसारका लागि सो कमिटीले ‘घर घरमा एमाले, मनमनमा एमाले’ नारासहित निर्वाचन अभियान घरघरसम्म लैजाने तय गरेको छ। सो प्रदेश सङ्गठन कमिटीको पूर्ववत् आकार ४७७ जनामा नबढ्ने गरि थप ७९ जनालाई मनोनयन गरिएको छ। कमिटीले नेताहरुको कार्य विभाजनसमेत गरेको छ।































प्रतिक्रिया