नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाखी टेकेर एमालेसँग लड्न नसकिने बताएका छन्। उनले गठबन्धनप्रति लक्षित गर्दै बैशाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गरे।
एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैशाखी टेकेर दायाँ र वायाँ गरेको बताए ।
उनले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गरे। सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए। अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गरे।
उनले धेरै समय आफ्नो कार्यकालमा भएका कामको चर्चा गरेका थिए। उनले प्रधानमन्त्री हुँदा विकासको लहर चलेको बताउँदै हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, देशमा तुइन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे।
कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले एमालेको खबरदारीकै कारण स्थानीय तहको निर्वाचन हुन लागेको बताए। उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसैसँग तागत नभएको दाबीसमेत गरे।
एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधनका क्रममा ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै एमाले सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताए। एमाले प्रवेशपछि बोल्दै सङ्घीय सांसद वृजेशकुमार गुप्ताले मधेशको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्तासहित प्रवेश गरेको बताए।
अब समग्र मधेशमा एमालेले स्थानीय तहको निर्वाचन जित्नेसमेत बताए। गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका थिए।
सांसद गुप्ता ७ हजार कार्यकर्तासहित प्रवेश गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले दाबी गरे। यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्तासहित एमाले प्रवेश गरेको उनको दाबी छ।































प्रतिक्रिया