स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँबाली भित्र्याउने चटारो छ। यहाँका नौ वटै पालिकामा किसान गहुँ भित्र्याउन व्यस्त छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–४ का राधेश्याम चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा स्थानीयवासी लागेको बताए । “नेताहरु चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्”, चौधरीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ।”
प्रायः सबै दलका जिल्ला तहका नेतासमेत पार्टीले खटाएको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । यहाँ पार्टी प्रवेश गराउने लहर नै चलेको देखिन्छ। पाँच दलीय गठनबन्धन हुने केन्द्रको सुर्कलरपछि यहाँ पार्टीभित्र असन्तुष्टीसमेत चुलिएको छ। असन्तुष्ट हुनेमा अधिकांश पालिकामा नेपाली कांग्रेसका स्थानीय नेताहरु रहेका छन्।
यहाँ कतिपय स्थानमा गहुँ भित्र्याइरहेका किसानलाई भेट्न खेतमै समेत पार्टीका नेता तथा कार्यकर्ता पुगिरहेका छन्। शुक्लाफाँटा नगरपालिका–३ का लक्ष्मी चौधरीले गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताइन् । “एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु”, उनले भनिन्, “सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ ।” उनले निर्वाचनमा नेताले किसानलाई आश्वासन मात्रै बाँड्ने गरेको दुःखेसो पोखिन्।
“खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्न आउँदा कुरा ठूला गर्छन्”, उनले भनिन्, “जतिसुकै व्यवस्था परिर्वतन भए पनि हामी किसानको समस्या कसैले बुझेनन्।” गहुँ खेतमा छर्ने कार्यदेखि गहुँ थ्रेसिङ गर्न यहाँ पछिल्ला वर्षमा कृषि औजार एवं यन्त्रको प्रयोग बढ्दो छ।
“पहिले दिनभरि हलो जोतेर गहुँ खेती गथ्यौँ”, उनले भनिन्, “अहिले त ट्र्याक्टरले एक्कैछिनमा हुन्छ ।” भीमदत्त नगरपालिका–१६ का चेतराम रानाले उम्मेदवारबिना नेताहरु भोट माग्न घरदैलो आइरहेको बताए। “गाउँमा हिजो अस्तिदेखि गहुँ भित्र्याउन थालिएको छ”, उनले भने, “हप्ता दश दिनमा गहुँ काटेर सकिन्छ अनि चुनावी रौनक सुरु हुन्छ।”
यहाँको राना थारु सामुदायिक होमस्टेका सचिवसमेत रहेका रानाले कोरोना कहरपछि होमस्टेमा पाहुना आउन कम भएका बेला स्थानीयवासी तरकारी खेतीमा लागेको बताए। नेपाली कांग्रेस वडास्तरमा उम्मेदवार टुङ्गो लगाउन कस्सिएको छ भने नेकपा एमालेलगायतका दलहरु पनि उम्मेदवार टुङ्गो लगाउने गृहकार्यमा जुटेका छन्।
“उम्मेदवाररहित नेताहरु घरदैलोमा फाटफुटरूपमा आइरहेका छन्”, शुक्लाफाँटा–१ का प्रचण्ड विष्टले भने, “हामी भने गहुँ भित्र्याउने र चैते धान लगाउने काममा छौँ।” उनले पार्टीहरुभित्र उम्मेदवार टुङ्गो लगाउन सकस भइरहेको सुन्ने गरेको बताए। “दिनभरि खेतमै हुन्छौँ, राजनीतिका कुरा सुन्ने मात्रै हो”, उनले भने, “हामीलाई गाउँको विकास गर्ने नेता चाहिएको छ।” कृषिमा युवा पुस्तालाई स्वरोजगार बनाउने खालका योजना ल्याउने नेताहरु किसानको रोजाइमा पर्न सक्ने विष्टको भनाइ छ।
यहाँको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले पालिकाका सबै वडामा गहुँ भित्र्याउन किसानहरु लागिपरेको बताए। “२० देखि २५ प्रतिशत किसानले गहुँ काटिसकेको अनुमान छ”, उनले भने, “गहुँको उत्पादकत्व पत्ता लगाउन बुधबारदेखि कर्मचारी खटाउँदैछौँ।” शुक्लाफाँटामा साढे छ हजार हेक्टरमा गहुँखेती हुँदै आएको बुढाऐरको भनाइ छ।





























प्रतिक्रिया