नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ।
बिहीबार बेलुकासम्म ६ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ। शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनाल तीन हजार १७५, उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाकाे दुई हजार ३४५ रहेको छ। कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुई हजार १८८ मत प्राप्त गरेका छन्।
मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। आज बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नतिजा पनि आउने छ।
बारको चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए। ती मध्ये सात हजार ४२९ मत खसेको थियो।





























प्रतिक्रिया