राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् ।
शुक्रवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा शुरु आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौं विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यो क्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गरी विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन् ।
राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने दाबी गरिन् । उनले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘शिक्षा प्राप्त गर्नु हरेक नागरिकको मौलिक अधिकार हो भने समान विभेदरहित शैक्षिक पहुँच स्थापित गर्नु राज्यको दायित्व हो । विद्यालय शिक्षाका साथै उच्च शिक्षामा आम नागरिकको पहुँच बढाउने, विद्यार्थी भर्नादर मात्र नभइ अध्ययनको निरन्तरता अभिवृद्धि गर्ने तथा शिक्षाको माध्यमबाट समाजको रुपान्तरण गर्ने सन्दर्भमा नेपाल सरकार, शिक्षासेवीहरु र सम्वद्ध पक्षको ध्यान जानु जरुरी छ । हाम्रो देशबाट प्रत्येक वर्ष हजारौँको संख्यामा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई स्वदेशमै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारेमा पनि हामी संवेदनशील हुनुपर्छ । हामीले उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गर्नसके गुणस्तरीय शिक्षा प्राप्त गर्ने एक गन्तव्यको रुपमा हाम्रो मुलुक पनि पर्न सक्दछ । त्यसका प्रशस्तै सम्भावनाहरु पनि छन् । यसबाट स्वावलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्छ । हाम्रा विद्यार्थीहरुलाई स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना गर्नुका साथै विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि हामीले आकर्षित गर्नसके शिक्षाको हाम्रो लगानी हामी परिणाममा निकाल्न सक्छौँ ।’
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कुलपतिहरुलाई सरकारले निर्माण गरेका विश्वविद्यालयहरुलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचेक्राँइ नगर्न आग्रह गरे । उनले यस्तो पक्षले उच्च शिक्षालाई नियमन गर्ने कुरामा गम्भीर असर परिरहेको बताउनु भयो ।
मन्त्री पौडेलले भने, 'उच्च शिक्षालाई नियमन गर्ने सन्दर्भमा जुन विश्वविद्यालय राज्यले खोलेको छ र स्थापित छन्, त्यो विश्वविद्यालयले त्यो क्षेत्रका कलेजहरु क्रमशः प्रक्रिया, कानून मिलाएर सम्बन्धित विश्वविद्यालयलाई पनि नराम्रो नहुने गरी हस्तान्तरण गरेर गइयो भने व्यवस्थित गर्न सकिन्छ । उच्च शिक्षालाई नियमन गर्ने र व्यवस्थित गर्न लागेका छौँ ।’
मन्त्री पौडेलले सरकारले उच्च शिक्षालाई नियमन र व्यवस्थित गर्न लागेको पनि बताए ।































प्रतिक्रिया