बाबुराम र देउवाको स्वार्थका कारण गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

बाबुराम र देउवाको स्वार्थका कारण गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । 

कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् ।

सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस स्रोतले बताएको छ। ‘सामूहिक राजीनामा आएपछि नगरकमिटीको बैठक बसिरहेको छ। राजीनामा स्वीकृत गर्ने या नगर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन् ।

गृह जिल्ला गोरखा भएका डा. भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । तर, त्यहाँ एक्लाएक्लै चुनाव लड्दा जसपाले जित्ने सम्भावना न्यून रहेको विश्लेषक बताउँछन् । सोही कारण भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् । 

‘भट्टराईले पालुङटारमा कांग्रेस मेयर पदका उम्मेदवारलाई ब्याक गराएर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरे सत्ता गठबन्धनसमेत तोड्ने भन्दै बार्गेनिङ गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री टिकिराख्न परेको छ। बाबुरामलाई आफ्नो निर्वाचन क्षेत्र सेक्योर गर्नु पर्नेछ । त्यसैले देउवाले आफ्नो उम्मेदवारलाई ठाडो लगाम लगाउन प्रयास गरिरहेका छन्’, स्रोतले भन्यो । 

गत १० गते नै जिल्लामा कांग्रेसले पत्रकार सम्मेलन गरेर गोरखामा केही नेताको स्वार्थका कारण गठबन्धन गर्न नसकेको बताएको थियो । त्यसबेला पनि भागबण्डामा कुरा नमिलेर गठबन्धन बन्न नसकेको हो ।

तर, जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाइ सरकार ढाल्ने बताएपछि देउवाले गत १६ गते (शुक्रबार) निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

कँडेलले केन्द्र निर्देशन स्विकार्न बाध्य भएपछि नगरपालिका भित्रका कांग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका हुन् ।

Skip This
Skip This
Logo