काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिला सेलु गठन गर्ने निर्णय गरेकी छिन् । हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजिकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
पदबहाली गरे लगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेको उनले बताइन् । महानगरका सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्नेछ । उनले आफ्नो चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा ुमहिला सेलु गठन गर्ने उल्लेख गरेकी थिइन् ।
उपमेयर डंगोलले भनिन्, ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो ।’ त्यसैगरी उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूचि अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा समेत हस्ताक्षर गरेकी छिन् । मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने उपमेयर डंगोलले बताइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरूको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा ३ बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ता बाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने उनले जानकारी दिइन् । सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने उनको भनाई छ ।





























प्रतिक्रिया