प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आज आइतवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो भनेका हुन् । उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई देशको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत राखे ।
उनले भने , ‘भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण सुदूरपश्चिम प्रदेशको विकास नभएको हो । लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ ।’
प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिमको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोड्ने र त्यसले सुदूरपश्चिमको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत् परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।





























प्रतिक्रिया