गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, मिर्गौला प्रत्यारोपण पोखरामै गराउने

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, मिर्गौला प्रत्यारोपण पोखरामै गराउने

केन्द्रबिन्दु
0
Shares

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो।

गण्डकी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दैप्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभा भवन नदीपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ। प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ। त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

यसैगरी प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्यबिन्दु जिल्ला अस्पतालमा डाइलाइसिस सेवा विस्तार गर्ने गण्डकी प्रदेश सरकारले जनाएको छ। पोखरामा ५० सैय्याको मुटुरोग अस्पताल स्थापना र सञ्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकारी दिए।  

सरकारले आउँदो वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषणभत्ता उपलब्ध गराउने जनाएको छ। ‘सुत्केरी आमा, पोषिलो खाना’ कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषणभत्ता उपलब्ध गराउने गुरुङले बताए। सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। दुई वर्ष अघिदेखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पुर्‍याउँदै आएको छ।

यस्तै, गण्डकी सरकारले बिरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने भएको छ। नीति तथा कार्यक्रममार्फत बजेटको  व्यवस्था गरेर रगत र रगतजन्य पदार्थको उपलब्धता निःशुल्क गर्न लागिएको हो। हरेक स्थानीय तहमा लागत साझेदारीमा एम्बुलेन्स उपलब्ध गराउने र सबै विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ।

Skip This
Skip This
Logo