नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल साइड बन्चरे डाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले त्यस्तो बताएका हुन् ।
काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको उनको भनाई थियो । उनले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दै स्थानीयहरूले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो ।
महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउँदै उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्यान्डफिल साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे । उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो तर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ', उनले भने 'बजेट छुट्याउँदै गर्दा हामीले ल्यान्डफिल साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ । १७० पटक सम्झौता भएको छ, तपाईँहरूलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामीबाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरीकन काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् । तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसाबले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहोर्याउँदैनौं ।’
नेता थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भएपनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्याए ।
प्रतिक्रिया