लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। गत जेठ २५ गते प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति कार्यक्रम माथि बिहीवार र शुक्रबार छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र विचार दृष्टिकोण फरक फरक भएपनि लुम्बिनीको विकासमा एक हुन प्रदेश सांसदहरुलाई आग्रह गरे।
अहिले प्रदेश सरकारको कार्यकालको अन्तिम वर्ष भएकाले राम्रो सन्देश दिनुपर्ने बताए। उनले पूर्वाधार निर्माणसँगै प्रदेशका श्रोत पहिचानको बाटो देखाइदिनु यो वर्ष ठूलो कुरा भएको उल्लेख गरे। मुख्यमन्त्री केसीले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्व विद्यालय, प्रदेशको राजधानी, केही गौरवको आयोजना र आम जनताको जीवन स्तर माथी उठाउनको लागि समेत आगामी वर्षको बजेटमा समेट्नेका लागि तयारी भइरहेको बताए ।
मुख्यमन्त्रीले जवाफ दिएपछि एमाले सांसद भोजप्रसाद श्रेष्ठले आफूले दर्ता गराएको संशोधन फिर्ता लिएका थिए। त्यसपछि नीति कार्यक्रम बहुमतले पारित भएको थियो। अर्को बैठक असार १ गते दिउसो ४ बजे बस्ने छ। सो दिन लुम्बिनी प्रदेशको बजेट प्रस्तुत गर्ने तयारी छ।





























प्रतिक्रिया