आईजीपीको रिटमा सुनुवाइ जारी, लीलामणि पौडेल बहस गर्दै

आईजीपीको रिटमा सुनुवाइ जारी, लीलामणि पौडेल बहस गर्दै


नेपाल प्रहरीका महानिरीक्षक आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।  रिट निवेदकका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले बहस गर्दै छन् । 

अधिवक्ता पौडेलले डीआईजीहरुका तर्फबाट वकालतनामा दिएका थिए। सोहीअनुसार उनको बहस सुरु भएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा बहस सुरु भएको हो। 

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले आजका लागि पेशी तोकेको थियो। गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको हो।

जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन। त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो। तर त्यसदिन सुनुवाइ नभएकाले चुडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताइन्। 

अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ। यसअघि वैसाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो। कारण देखाउ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन्। 

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन्। सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए।
 

Logo