शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पहिले भनेकै ठाउँमा बाहिरी चक्रपथ बन्नेमा शंका रहेको बताएकी छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार उनले बाहिरी चक्रपथको कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी गराइन् ।
‘आउटर रिङरोड बाहिरी चक्रपथको प्रक्रिया केही पनि अघि बढेको छैन, जुन ठाउँमा आज आउटर रिङरोड बन्ने भनिएको थियो, त्यही ठाउँबाट बन्छ कि बन्दैन भन्ने कुराको सन्देह छ’ उनले भनिन् । बाहिरी चक्रपथ बन्ने भनिएको चोभारको ड्राइपोर्ट सुख्खा बन्दरगाहदेखि सतुंगलसम्मको ६ किलोमिटर क्षेत्रमा धेरै सरकारी भवन बनेको र त्यसको मुआब्जा दिन ३ अर्ब रुपैयाँ भन्दा धेरै रकम आवश्यक पर्ने मन्त्री झाँक्रीको भनाइ छ ।
‘चोभारको ड्राइपोर्टदेखि सतुंगलसम्म जहाँ आउटर रिङरोड भनेर सर्वे गरिएको थियो । त्यो ६ किलोमिटर क्षेत्रमा कयौं सरकारी भवन बनेका छन् । यदि राज्यले मुआब्जा दिने हो भने करिब करिब ३ अर्ब लाग्छ’ उनले भनिन् । त्यस्तै बाहिरी चक्रपथ बन्ने क्षेत्रमा जग्गाको धेरै कित्ताकाट भएको भन्दै उनले यो योजनाको पुनः अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट शहर बनाउने योजनाको पनि काम भन्दा कुरा धेरै भएको बताइन् । चार स्याटेलाइट सिटीमध्ये उत्तरपूर्वी शहरको भौतिक पूर्वाधारको योजना मन्त्रिपरिषदले पास गर्ने तयारी भएको र अरु तीन वटाको सम्भाव्यता अध्ययन नै जारी रहेको उनको भनाइ छ । ती शहर बनाउने भनेको ठाउँमा जग्गा रोक्काको काम पनि अघि नबढेको मन्त्री झाँक्रीले जानकारी दिइन् ।
प्रतिक्रिया