सुदूरपश्चिमका आठ वटा जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

सुदूरपश्चिमका आठ वटा जिल्ला समन्वय समितिमा कांग्रेस विजयी


सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ। 

नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन। जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित भए। 

यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का खगराज भुसाल विजयी भए ।

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भए।

जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित भए।

बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भए । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भए। सत्ता गठबन्धन दलहरुका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भइन्। 

जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भए। नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिए। 

Logo