नेपाली कांग्रेसको सोमबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भ्रातृ संगठनका विषयमा छलफल हुने भएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो।
केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने बिषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।भ्रातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरि आवश्यक निर्णय हुने उनले बताए।
उनले भ्रातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे। अहिले पार्टी विधि र पद्धतिअनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनले स्पष्ट पारे।
केन्द्रीत समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका बिषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन्।
यता कांग्रेसको शेखर कोइराला पक्षले केन्द्रीय समितिका लागि सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ।
पार्टी सभापति नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेको, नैतिक प्रश्नहरु उठेको, संरचनागत अराजकता मौलाएको गुनासोहरु बढिरहेको भन्दै यसमा गम्भीर समीक्षा गरेर जानुपर्ने निष्कर्ष निकालिएको शेखर पक्षका नेता चन्द्र भण्डारीले जानकारी दिए।































प्रतिक्रिया