नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । आज मंगलवार दिउँसो अध्यक्ष नेपाल र लिउबीच काठमाडौंको एक होटलमा भेट भएको हो ।
भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए । उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताए । अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट र चीनको कम्युनिस्ट जनवर्गीय सङ्गठनका बारेमा पनि कुरा भएको बताए । चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको र दुई देशको सम्बन्धलाई अझै सुमधुर बनाएर लैजाने कुरा राखेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले भने, ‘नेपाल एक चीन नीतिमा दृढ छ । चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपालको बहसमा छैन । नेपाल अरूलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन । हामीले चीनसँग कुनै समस्या पाएका छैनौँ । यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए । चिनियाँ पक्षले पनि नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीसँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको कुरा गर्यो ।’
गएको आइतवार चार दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । विदेश विभाग प्रमुख लिउले भोलि बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ ।
भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।
यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।

































प्रतिक्रिया