चुनाव आउनै लाग्दा किन गए प्रचण्ड दिल्ली ?

चुनाव आउनै लाग्दा किन गए प्रचण्ड दिल्ली ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल पनि नयाँदिल्ली गएका छन् । प्रचण्डको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओ नेपाल भ्रमण पुरा गरेर फर्किएको दोस्रो दिन प्रचण्ड दिल्ली भ्रमणमा निस्केका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमण सकेर बुधबारस्वदेश फर्किएका थिए । 

आगामी प्रदेश र संघको चुनावको मिति घोषणाको तयारी भइरहेको छ । त्यसैमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समेत स्वास्थ्य उपचारको सिलसिलामा नयाँ दिल्लीमै छन् । सबै घटनाक्रमले समेत प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।सीपीसीका विदेश विभाग प्रमुख लिउले प्रचण्डलाई गत असार २७ गते भेटेलगत्तै त्यसै राति भारत भ्रमणका लागि उनलाई सन्देश आएको थियो ।

प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो आएलगत्तै गत असार २८ गते नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव औपचारिक पत्र लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणा बोकेर राजदूत खुमलटार पुगेका हुन् । दिल्ली पुगेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ ।

यता प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा भ्रमण आकस्मिक नभएको ब्रिफिङ गरेका छन् । बिहीबार उपलब्ध स्थायी समितिको बैठकमा प्रचण्डले गत चैतमा नेपालका लागि भारतीय पूर्व राजदूत विनयमोहन क्वात्राले आफ्नो कार्यकाल सकिएपछि भारत भ्रमणको निम्तो दिएको बताएका थिए ।अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएकोे बताएका छन् । उनले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताएका छन् । भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हीतलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरुसँग आफ्नो कुरा हुने उनले उल्लेख गरे । 
अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताए । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उनको भनाई छ । उनले द्विपक्षीय हित हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु अगाडी बढाउने कुरा पनि हुने बताए । आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उनले उल्लेख गरे ।

उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आफू उत्साहका साथ भ्रमणमा गएको बताए । दाहाल साउन १ गते आईतवार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Logo