वैदेशिक क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत छु : श्रममन्त्री कुँवर

वैदेशिक क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत छु : श्रममन्त्री कुँवर

केन्द्रबिन्दु
0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताएका छन् ।  

हिजो मन्त्रालयमा श्रम, रोजगार पत्रकार समुहसँग कुराकानी गर्दै मन्त्री कुवँरले यस्तो बताएका हुन् । 

‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, उनले भने, ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’

यस्तै उनले स्वदेशमै रोजगार प्रबर्द्धनमा ध्यान दिनुपर्ने पनि बताए । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उनको भनाइ थियो । नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उनले आफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न आग्रह गरे । 

‘प्लम्बर, इलेक्ट्रिसियन, नाइ मात्र होइन उद्योगहरुमा मेकानिकसम्म भारतबाट आउँछन्’, उनले भने, ‘हामीहरु सीप विकास गरेर उनीहरुलाई विस्थापन गरौँ न, अनि रोजगारीका अवसर नेपालमै भेटिन्छन् ।’

सरकारले खाडीका देश लगायत मलेसियामा जाने श्रमिकलाई फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भए पनि त्यसको राम्रोसँग पालना नभएको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आफू लाग्ने पनि बताए । 

 

Logo