काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्रबारे प्रश्न गरेका छन् ।
महानगरभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गरेका हुन् । यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? भन्ने विषयमा पनि शाहले चासो राखेका थिए ।
त्यस्तै विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने पुनः प्रश्न गरेका थिए ।
बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्र गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्र हुने उनिहरुको भनाई छ ।
प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनको धारणा थियो ।





























प्रतिक्रिया