नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।
मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।
उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उनले जानकारी दिए ।
उनले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’
अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताए । उनले आफूहरु गठबन्धन लिएर लाने पनि बताए । उनले भने ‘कांग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको ।’
अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनले गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष दाहालले बताए ।































प्रतिक्रिया