काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा संसदमा बहस भएको छ । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले लामो समयसम्म पनि काठमाडौ.का चोक चोकमा फोहोर थुप्रिदा पनि सरकारले कुनै पहल नगरेको भन्दै चर्को आलोचना गरे ।
एमाले सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए ।
उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे । सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गरे ।
सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए । उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाइ थियो ।
सांसद मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरुप केही दिन नसकेको तर्क गरिन् । सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने उनको भनाइ थियो । निर्वाचन पछि एमाले ध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उनको दाबी छ ।
प्रतिनिधि सभा सदस्य मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराइन् ।
प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताए । उनले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग पनि गरे ।
प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने अवस्था किन आयो भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनि सरकारसँग जवाफ माग गरिन् ।





























प्रतिक्रिया