‘प्रकाश’को प्रिमियर शोमा आर्यनदेखि दीपाश्रीसम्म

‘प्रकाश’को प्रिमियर शोमा आर्यनदेखि दीपाश्रीसम्म


नेपाली चलचित्र ‘प्रकाश’को प्रिमियर शो गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो गरिएको हो । 

शुक्रवारबाट देशभर प्रदर्शनीमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य अभिनय रहेको छ । प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत फिल्म क्षेत्रसँग जोडिएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । फिल्म हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री नम्रता श्रेष्ठ, कलाकार अनुभव रेग्मी लगायतका कलाकारको उपस्थिति थियो । 

प्रिमियर शोपछि अभिनेता प्रदीप खड्काले फिल्म सबैले मन पराएकोमा खुशी व्यक्त गरे  । उनले नेपाली फिल्म राम्रो बनाउन नेपाली दर्शकले साथ, सहयोग र प्रतिक्रिया दिनुपर्ने आवश्यक रहेको बताए । त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले चलचित्रको विषयवस्तु उत्कृष्ट रहेको बताइन् । उनले नेपालको बेथिति र विसंगतिको विषयमा चलचित्रमा कथावस्तु उठाइएको बताइन् । 

अभिनेत्री दीया मास्केले फिल्म बनिसकेपछि हेर्दा आफ्ना कमजोरीको पहिचान हुने र आगामी दिनमा झनै राम्रो गर्ने अवसर मिल्ने बताइन् । 

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई चलचित्रले जोड दिएको छ । राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली प्रदेश र त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, विम्वात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । 

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भुमिकामा छन् । राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व सङ्गीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।
 

Logo