यसकारण फेरि भारतीय लस्कर
  • दिवस गुरागाईं-

असारको दोस्रो साता– श्यामशरण

साउनको पहिलो साता – समन्त गोयल

साउनको तेस्रो साता – विजय चौथाइवाला

नेपाल भ्रमणमा आएका तीन भारतीय कुटनीतिज्ञ तथा राजनीतिज्ञ हुन् यी । श्यामशरण भारतका पूर्व विदेश सचिव, गोयल ‘रअ’ का नेपाल प्रमुख र चौथाइवाला सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का विदेश विभाग प्रमुख हुन् ।

पछिल्लो पटक आएका बिजेपीका विदेश विभाग प्रमुख चौथाइवालाको भ्रमण पुरा नहुँदै भदौ ४ मा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने लगभग पक्का भइसकेको छ । र, यसबीचमा अन्य केही कुटनीतिक भ्रमण हुने पनि निश्चित प्रायः छ ।

श्यामशरण पूर्व विदेश सचिव मात्र होइनन्, नेपालकालागि पूर्व भारतीय राजदुत पनि हुन् । उनी नेपाल आइरहने भारतीय कुटनीतिज्ञमा पर्छन् । अर्को शब्दमा भन्दा श्यामशरण नेपाल ‘आ’को आइ’ गर्छन् । र, धेरैजसो अनौपचारिक रुपमा आउँछन् । भनिन्छ, पछिल्लो पटक पनि उनी सुटुक्क आए र सदा झैं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण सिटौला, अमरेश कुमार सिंह लगायतलाई भेटे । बालुवाटार स्रोतले प्रचण्डलाई भेटेको समाचार चोर बाटोवाट सार्वजनिक गरिदियो । अनौपचारिक कुरा पत्याउने हो भने श्यामशरणले एक दर्जन नेताहरुलाई भेटेर फर्के । तर, श्यामशरणलाई भेटेको प्रसंग प्रचण्ड सचिवालयले समेत स्वीकारेन ।

श्यामशरण तिनै ब्यक्ति हुन्, जसले गणतान्त्रिक आन्दोलनकालागि दलहरुलाई १२ बुँदे दिल्ली संझौताको ‘डिजाइन’ गरेका थिए । उनी खासगरी प्रचण्डको निकटस्थ मानिन्छन् । सरल, सहज, हलुका, अवसरवादी आदि चरित्रका प्रचण्डलाई जनयुद्धताका भारतमा सुरक्षित ढंगले बस्ने ब्यवस्था पनि श्यामशरणले नै मिलाएको तथ्य पनि प्रमाणसहित सार्वजनिक भइसकेका छन् । अर्थात श्यामशरण र प्रचण्डको सम्बन्ध पुरानो र प्रगाढ मानिन्छ ।

प्रचण्डलाई केही पटक श्यामशरणले प्रयोग गरिसकेको पनि तथ्यहरुले देखाउँछ । यसपटक भने श्यामशरण बढी नै ‘खड्किए’ प्रचण्डलाई । र, भित्रीरुपमा एउटा बहाना बनाएर उनलाई नेपाल बोलाईयो । एउटै आशनमा लामो समय बसिरहन नसक्ने प्रचण्डको नयाँ पार्टी नेकपामा ‘दाल’ नगलेपछि श्यामशरण अस्त्रको रुपमा भित्र्याइए । प्रचण्डलाई पार्टीमा कति औडाहा भएको छ भनेर बुझ्न उनका दुई सारथी हरिबोल गजुरेल र देबेन्द्र पौडेलका अभिब्यक्ति सिरिजमा सुन्ने हो भने थाहा हुन्छ । तर, प्रचण्डलाई जतिकै आवश्यक थियो, भारतीय संस्थापनकालागि श्यामशरणको गुप्त भ्रमण पनि ।

श्यामशरण फर्केपछि बालुवाटारमा ८ रेक्टरको भुकम्प गएको महसुस गरियो ।

प्रधानमन्त्रीका किचन क्याबिनेटका दुई सदस्य विष्णु रिमाल र राजन भट्टराईका विभिन्न माध्यममा आएका अभिब्यक्ति नियाल्ने हो भने ठूलो भुकम्पको महसुस भएको बुझ्न सकिन्छ । उनीहरुको निश्कर्ष थियो, ‘सरकारबिरुद्ध देशी तथा विदेशी शक्ति लागेका छन् ।’ सरकारी पक्षवाट फेरि पटक पटक भनिदैछ, ‘यो सरकार ढल्दैन, पुरै कार्यकालकोलागि जान्छ’ । मानौं उहिले –उहिलेको जस्तै अल्पमतमा छ, सरकार ।

श्यामशरणपछि नेपाल आउने अर्का भारतीय भीआइपी हुन् – समन्त गोयल । साउन ५ गते नेपाल आएका उनी भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख हुन् । नेपाल प्रमुख भएपछि उनी उच्च प्राथमिकता दिँदै पहिलो पटक विदेश भ्रमणमा नेपाल आएको एकथरीको विश्लेषण रहेको छ । उनले पनि प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुलाई भेटेको स्रोतहरु बताउँछन् । यद्यपि यस भेटघाटलाई समेत कुनै नेताले स्वीकारेका छैनन् । हाँस्यस्पद निश्कर्ष निकाल्न सकिन्छ, ‘रअ’ प्रमुख बिना ‘सेड्यूल’ नै नेपाल आएका थिए ।

त्यसपछि एउटा भारतीय कार्यक्रमलाई प्राथमिकतामा राखे झैं गरेर साउनको १७ गते कार्यक्रमको वक्ता बने भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाला । नेपाल भारत मैत्री समाजको आयोजनामा भएको यस कार्यक्रममा उनले भारतीय विदेश नीति परिवर्तन हुने र अबका दिनमा भारतीय हितमा मात्र काम गर्ने भनेर विचार ब्यक्त गरे । कुटनीतिमा यो हरफलाई सामान्य मानिन्न । अबका दिन फरक र जटिल हुनसक्ने संकेत पनि हो यो । त्यसो त नेपालमा जलविद्युतमा लगानी गर्दैनौं भनेर भारतले मुख खोलिसकेको छ । बंगलादेशमा बिजुली बेच्ने नेपालको नीतिलाई ‘फ्ल्प’ गराउन ‘हाइटेन्सन लाइन’ बनाउन नदिने कानुन बनाउँदै गरेको छ, भारत । यस प्रकारका अन्य थुप्रै तयारी समेत गरिरहेको छ, भारतीय पक्ष ।

नेपाल भारत मैत्री समाज यस्तो संस्था हो जसको नेतृत्वमा भारतीय छन् । यस संस्थाको अध्यक्ष प्रेम लस्करी राजस्थानी हुन् । उनी नेपाल बसिरहने माध्यम हो, सोल्टी होटलको प्रांगढमा सञ्चालित ज्वेलरी पसल । भारतीय राजनीतिज्ञ वा कुटनीतिज्ञलाई नेपाल आएर बोल्नु परेमा लस्करीकै संस्थाले प्रबन्ध मिलाउँछ । यस पटक होटल हिमालयमा विजय चौथाइवाला बोल्नलाई नै आएका थिए, अन्तक्र्रियाको बहानामा । स्मरणरहोस्, यो संस्थाको उद्घाटन तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले गरेका थिए ।

अब प्रश्न आउँछ, किन फेरि भारतीय कुटनीतिज्ञ तथा राजनीतिज्ञहरुको भ्रमण बाक्लो हुन थाल्यो ? दिल्लीका ‘थिंङक ट्याङक’ देखि राजनीतिज्ञसम्मले पछिल्लो पटक निकालेको निश्कर्ष हो, ‘नेपाल चीनको पोल्टामा गयो ।’ अर्थात वर्तमान केपी शर्मा ओली सरकारले भारतीय नेतृत्वलाई विश्वास दिलाउन सकेन । भारतीय छातावाट आफूलाई हटाएर चाइनिज छातामा ओत लाग्न थाल्यो भन्ने उनीहरुको बुझाई रहेको छ ।

भारतीय मिडिया र विश्लेषकहरुका भनाई पत्याउने हो भने नेपाल पुरापुरी चाइनाको कित्तामा गइसक्यो । वर्तमानमा भइरहेका र हुने भारतीय भ्रमणहरु यही विषयमा केन्द्रीत छन् भनेर ठोकुवा नै गर्न सकिन्छ ।

भारतको दुईतिहाई बहुमतको सरकारी गठबन्धनमा दम्भ चढ्दो छ । भारतका विपक्षी पार्टीहरुको आरोप पत्याउने हो भने मोदी सरकार तानाशाही बाटोमा दगुर्न थालेको छ । सुरुमा फकाएर । त्यसपछि धम्क्याएर ।

र, त्यसले पनि नपुगे विभिन्न प्रकारका असहयोग गरेर भएपनि नेपाल कँजाउने भारतीय नीति पुरानै हो । यस नीतिमा भने ऊ पक्कै अडेर बस्ने छ । अडिने वा नअडिने डर नेपाल सरकार र नेतृत्वको मात्र हो । जो हेर्न बाँकी छ ।