शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ गते हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षाको मिति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मिति अनुसार प्राथमिक तहको असोज ९ गते, माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको असोज ११ गते परीक्षा हुनेछ ।

आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो । शिक्षक लाइसेन्सको परीक्षा दिन २ लाख ५० हजार बढीको आवदेन परेको छ ।

जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको आयोगले जनाएको छ । कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा भने कम आवेदन परेका छन् ।

लाइसेन्स परीक्षाको प्रवेश पत्र आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिनेछ । भदौ १५ गतेपछि प्रवेश पत्र र परीक्षा केन्द्रको लागि सूचना प्रकाशित गरिने आयोगले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

वस्तुगत प्रश्नको उत्तरपुस्तिका मेशिनबाट परीक्षण गरिनेछ । त्यसको लागि उत्तरपुस्तिका मोड्न वा कुच्याउन पाइने छैन् । यस्तो पाना मेशिनले पढ्न नसक्ने आयोगले स्पष्ट पारेको छ । परीक्षामा अनिवार्य कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ । वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको लागि २० प्रतिशत अंक कट्टा गरिनेछ ।

तीन घण्टा अवधीको हुने परीक्षामा वस्तुगत प्रश्नका लागि ४० मिनेटको समय छुट्याइएको छ । उक्त अवधीमा वस्तुगत प्रश्न हल गरी अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ ।

शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ गते हुने