युथ पर्सन अफ द ईयरको उपाधि सापकोटालाई

एनआरएन अस्ट्रेलियाको आठौँ सम्मेलनमा विजय सापकोटाले युथ पर्सन अफ द ईयरको उपाधि हात पारेका छन् । गत १० जुन महिनादेखि खोलिएको मनोनयनमा विभिन्न १४ विधामा आफूले योग्य ठानेका व्यक्तिहरूलाई कारणसहित सिफारिस गर्न आग्रह गरिएको थियो । यही सिफारिसका आधारमा प्राप्त भएका निवेदन हेरेर छनोट कमिटीले विजेता तोकेको थियो । जसमा सापकोटा एनआरएनए युथ पर्सन अफ द ईयर चुनिएका हुन् ।

सन् २०१३ मा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका सापकोटा २०१६ मा न्यु साउथ वेल्स इन्टरनेसनल स्टुडेन्ट अफ ईयर भएका थिए ।

यसैगरी काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलियाको पहिलो प्रेसिडेन्ट सापकोटा दोस्रो कार्यकालमा समेत निर्विरोध विजयी भएका थिए । दुई सफल कार्यकाल पूरा गरेका सापकोटाले विद्यार्थीका समस्या र आवाजको प्रतिनिधित्व गर्दै २०० भन्दा बढी समस्याको समाधान गरेका थिए ।

नेपाली समाज अस्ट्रेलियामा एक उदाहरणीय पात्र बनेका सापकोटाले आगामी दिनमा पनि विभिन्न संघसस्थासँग आबद्ध हुँदै नेपाली समाज र विद्यार्थीहरूको समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।