अब सातै प्रदेशमा गाईजात्रा

सिमरा,
काठमाडौंमा हरेकवर्ष गाईजात्रा पर्वको दिन विशेष हाँस्यव्यङ्ग्य कार्यक्रम हुन्छ । यो वर्षदेखि भने हाँस्यव्यङ्ग्य कार्यक्रम गाईजात्रा सातै प्रदेशमा हुने भएको छ । मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी सुरु भएको छ । हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन् ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको १० दिने ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश १ को बिराटनगरबाट सुरु हुन लागेको छ । प्रदेश २ मा भने गाईजात्रा कार्यक्रम सिमरामा गर्ने तयारी भइरहेको छ । होटल तथा पर्यटन व्यवसायी संघ र सिमरा फाउण्डेशनले संयुक्तरुपमा गाईजात्रा कार्यक्रमको संयोजन गर्न लागेका हुन् । सिमरामा भदौ १ गते हुने उक्त कार्यक्रम प्रदेशकै पहिलो गाईजात्रा हुनेछ।

स्थानीयस्तरमा संयोजन गरिरहेको संघ र फाउण्डेशनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर गाईजात्रा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागिएको जानकारी दिए । प्रदेशकै कार्यक्रम सिमरामा आयोजना गर्न लागिएको हुँदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको बताए ।

गाईजात्रा कार्यक्रममा कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउनेछन् । सिमरामा भदौ १ गते कार्यक्रम सकेर कलाकारको टोलीले गाईजात्रा कार्यक्रमलाई अन्य पाँच प्रदेशको हेटौडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा र संघीय राजधानी काठमाडौंमा प्रस्तुत गर्नेछन् ।
अन्नपूर्णबाट