दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा


यस वर्षको विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। 

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

यस्तै, असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको समितिले जनाएको छ। यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्र आरम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको साइत शुभ रहेको समितिले जनाएको छ । 

Logo