नेपाल साफ महिला च्याम्पियसिपको फाइनलमा, भारतविरुद्ध ऐतिहासिक जित

नेपाल साफ महिला च्याम्पियसिपको फाइनलमा, भारतविरुद्ध ऐतिहासिक जित


नेपाल साफ महिला च्याम्पियसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १-० को ऐतिहासिक जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । 

नेपालको जितमा रश्मीकुमारी घिसिङले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफको इन्ज्युरी समयमा प्रिती राईको क्रसलाई घिसिङले गोलमा परिणत गरेकी हुन् । खेलमा भारतले पनि थुपै गोलको अवसर पाएको थियो तर, सदुपयोग गर्नबाट भने चुक्यो । 

साफ महिला च्याम्पियसिपमा भारतविरुद्ध यो नेपालको ऐतिहासिक जित हो । यसअघिका चार फाइनल र एक सेमिफाइनल खेलमा प्रतिस्पर्धा  गर्दा नेपालले भारतविरुद्ध साफ च्याम्पियनसिपमा  जित निकाल्न सकेको थिएन । 

नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो ।  भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ । 

अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल सोमबार हुनेछ । 

 

Logo