कथा: हैसियतको प्रश्न 
  • प्रकाश तिवारी- 

बत्तीस वर्षअघिको कुरा हो, अभिषेक जागिरको खोजीमा काठमाडौँ हान्नियोे । धेरै दुःख हण्डर व्यहोरेपछि  बल्लतल्ल उसले मुखियाकोे जागिर भेट्टायोे । खरिदार तहमा पुग्दा उसको विवाह ऋचासँग भयोे । सरकारी जागिरे भएकाले शिवरामले पनि आनाकानी नगरी छोरी दिए । लगत्तै छोरीका नाममा चार आना घडेरी पनि किनिदिए ।

त्यसो त आम मानिसलाई जस्तै अभिषेकलाई पनि घर बनाउने रहर नभएको कहाँ हो र ! तर विवाहको एक दशक बितिसक्दासम्म घर बनाउने यथोचित धन जुटाउन सकेन उसले । छोराछोरी हुर्कन थाल्दा पनि छोरीको आफ्नो घर नभएपछि कस्तालाई छोरी दिएछु भन्दै ससुरा शिवराम पछुताउ गर्न थाले । शिवरामले ज्वाइँको मुखैअघि भन्न थाले, ‘गर्नेले सानै जागिरबाट पनि ठूलै चकचकी गरेका छन् । तपाईं त ह्याउ नभएको मान्छे !’

समय बित्दै गयोे । रिटायर्ड हुन केही वर्ष बाँकी थियो । घर बनाउन नसकेको हिनताबोधले ससुराली जान पनि छोदिदियो उसले । तर श्रीमतीको करकर भने सुन्न बाध्य थियो ऊ ।

सामाजिक दबाव पनि तीव्र हुँदै गएपछि अभिषेकले पहाडमा आफूले पाएको सबै पैतृक सम्पत्ति बिक्री ग¥यो । त्यसमाथि सञ्चय कोषबाट कर्जा निकाल्योे । यति गरेपछि बल्ल एक तले घर बनाउन सकिने पैसा जम्मा गर्यो । एक वर्षको अथक मेहेनतपछि सामान्य खालको एकतले घरको ऊ मालिक बन्यो ।

छिमेकमा विशिष्ट सार्वजनिक पद धारण गरेका हरिश्चन्द्रको बङ्गला थियो । बाटो हिँड्नेहरूका लागि यो घर नमुना थियो । उसको घर अगाडि हिँड्ने सबै ठिङ्ग उभिएर हरिश्चन्द्रको बङ्गलामा नजर लगाउँथे ।

छिमेकी भएपछि थाहा भयो, साढे दुई दशकअघि ऊजस्तै सामान्य परिवारबाट एक हातले हाफ पाइन्ट समात्दै काठमाडौँ छिरेका हरिश्चन्द्र त्यतिबेलासम्म सबैको उदाहरण बनिसकेका थिए । हरेक अभिभावक दशैंको टीकोमा आफ्ना छोराछोरीलाई आशीर्वाद दिंदै भन्थे– ‘हरिश्चन्द्रले जस्तै प्रगति  गरेस् !’

घर सरेको एक वर्षपछि अभिषेकको घरछेउको बाँसको झाङ आसपासबाट आधा रातमा एउटा हुच्चिल बडो नराम्रोसँग करायो । आवाज त्रासद थियो । त्यसैले ऊ निदाउन सकेन । मनमा अनेक तर्कनाहरू आइरहे । मिरमिरे बिहानीको समयमा झुपुक्क निद्रा परेको मात्र के थियो । आदेशात्मक आवामा कोही कड्कँदै बोलेको सुन्यो उसले – ‘तुरुन्त ढोका खोल्नुस् !’

उसले झ्यालबाट बाहिर हे¥यो । मूल ढोकामा एक हुल बर्दीधारी थिए । एकाएक उसको मुटु बेजोडले उफ्रन थाल्यो । अनुहारको रङ्ग रातो भएर आयो ।

‘ढोका खोल्नुस् भनेको सुन्नु भएन ?’

बर्दीधारीको आवाज पहिलेको भन्दा कर्कस थियो । श्रीमती ऋचा पनि बिउँझिई । अभिषेक ढोका खोल्न अगाडि बढ्यो ।

जसै ढोका खुल्यो । प्रहरीहरू घरभित्र गुटुटुटु छिरे । कोही घरबाहिर निक्लन नपाउने उर्दी जारी भयो । खानतलासी सुरु भयो । छोराछोरी रुनकराउन थाले । ऋचा अत्तालिई ।

‘राम्ररी उज्यालो पनि हुन नपाउँदै …..! मैले के गरेँ ?’ डर र आक्रोसमिश्रित आवाजमा अभिषेक बोल्यो ।

‘केहीबेरमा सबै थाहा पाउनुहुन्छ ।’ जवाफ आयो । अभिषेकले भावी दुष्परिणामको लख काट्न मात्र सक्यो । खैलाबैला सुनेर छिमेकीहरू उत्सुकतासाथ घाँटी तन्काईतन्काई हेरिरहेका थिए ।

करिव एक घण्टापछि हतकडी लगाइएको अभिषेक प्रहरीको साथमा बाहिर निस्कियो । पुरानो दराजबाट एक लाख रुपैयाँको गड्डी प्रहरीले फेला पारेपछि ऊ आज्ञाकारी बालकझैँ आदेशको पालना गर्दै प्रहरी भ्यानमा बस्यो ।

अनुसन्धान, तहकिकात चल्यो । उसको जागीर पनि धरापमा प¥यो ।

‘ल आफै भन्नुस् यो लाख बाहेक कुनकुन बैँकमा के–कति पैसा छ तपाईंको ?’

‘बैँकमा पैसा छैन । बरू आफन्तसँग लिएको तिर्न बाँकि रिन छ ।’ उसले भन्यो ।

‘खरदारको जागिरले काठमाडौँमा घर बन्छ ? त्यो एक लाख पैसा कहाँबाट आयो ?’

ऋभिषेकले पहाड घरको जायजेथा बेचेकोदेखि सञ्चयकोषबाट ऋण लिएसम्मका सबै व्यहोरा बतायो ।

अनुसन्धान तहकिकात समाप्त भएपछि भ्रष्टाचार अनुसन्धान गर्ने निकायले अदालतमा मुद्दा दायर ग¥यो । कसैले उसलाई फसाउन एक लाख रुपैयाँ दिएको तर किन त्यो पैसा लिएको भन्ने स्पष्ट नभएको भन्दै अदालतले सफाइ दियोे । उसले सफाइ पाउनुमा लामो अवधिको जागिरमा कुनै पनि गलत काम नगरेको कुरालाई आधार बनाइयो ।

उसले न्यायिक नजरबाट सफाइ पायो । तर जोरीपारी र छरछिमेकीहरूका नजरबाट सफाइ पाउनु  त्यति सजिलो कहाँ थियो र ! भन्नेहरूले भन्न छाडेनन्, ‘घर मात्र सानो रहेछ, भित्र त अकूत कमाएको रहेछ ।’

ऊ प्रायः घरभित्रै बस्ने गर्दथ्योे । अत्यावश्यक कामले घर बाहिर निस्कँदा भष्टाचारीलाई देख्दा साइत बिग्रन्छ भन्दै मुख फर्काएर हिँड्ने पनि थुप्रै हुन्थे ।

आफूप्रतिको तुच्छ सामाजिक व्यवहारले उसलाई मानसिक आघात पुग्यो । उसको  बानी व्यहोरामा नजानिँदो परिवर्तन आउन थाल्यो । कम बोल्ने उसलाई प्रायः टोलाइरहेको देख्न  सकिन्थ्यो ।

सामाजिक वहिष्कार र अपमानको जाँतोमा पिसिएको अभिषेकले घर बेच्ने र सानो डेरामै बाँकी जागिर पकाउने निधो गरे ।

चलेको मोल दिएर घर किन्ने मान्छे अरू कोही नभएर छिमेकी हरिश्चन्द्र थिए । भव्य महल हुँदाहुँदै किन यस्तो बेकामे घर किनेको भनेर कसैले सोधे हरिश्चन्द्र भन्ने गर्दथे, ‘छिमेकी पनि आफू समान भएनन् भने रमाइलो नहुने रहेछ ।

तर कुनै देखिने खालको जागिर र व्यवसाय नगरेका हरिश्चन्द्रको हैसियतका विषयमा भने आजसम्म कसैले प्रश्न गरेका छैनन् !