नक्कली एयरहोस्टेजको ठगी धन्दाः व्यापारीदेखि राजेश पायलसम्मलाई मर्ने धम्की

झापा । आत्महत्याको धम्की दिँदै ठगी गर्ने एक नक्कली एयरहोस्टेज प्रहरी फन्दामा परेकी छन् । एयरहोस्टेज भएको बताएर ठगी गर्ने झापाको अर्जुनधारा ६ की २७ वर्षीया तविता राई प्रहरी फन्दामा परेकी हुन् ।

उनको ठगी गर्ने धन्दा निकै रोचक थियो । उनको ठगी धन्दामा व्यापारीदेखि चर्चित गायक राजेशपायल राई सम्म परेका थिए । राजेशपायलको समेत फेसबुक साथी बनेकी राईले उनलाई समेत ठगी गर्ने दाउ देखिएको छ ।

गायक राजेश पायलसँग पनि उनको म्यासेन्जरमा कुरा भएको देखिएको छ । गायक राजेश पायल नामको आइडीमा पनि कुरा भएको छ । अब गायक राईको आइडी सक्कली वा नक्कली के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लामो समयदेखि ठगी गर्दै आएपछि दुई युवकले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

गुरास र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आईडी बनाएर पुरूषहरूलाई मायाजालमा पार्दै ठगी गर्दै आएकी थिइन् । बिर्तामोडका डीएसपी मोहनकुमार थापाका अनुसार राईले आफु जेट एयरलाइन्समा एयरहोस्टेज बताउँने गरेकी थिइन् । उनले बुबा अमेरिका बस्ने र आमा डाक्टर भएको बताउने गरेकी थिइन् ।

राम्रो तथा अलि घराना परिवारका पुरूषहरूलाई मोबाइल र म्यासेजमार्फत मायाजालमा पार्थिन् । निरन्तरको कुराकानीपछि उनले आफूलाई आकस्मिक समस्या देखाएर पुरुषसँग रकम माग्ने गरेकी थिइन् ।

राईले इन्स्टाग्रामबाट एक एयर होस्टेजको फोटो निकालेर नक्कली फेसबुक प्रोफाइल बनाएको भेटिएको छ । प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूर अन्तरगत मुद्दा चलाएको छ ।

त्यस्तै उनले फेसबुकमा भ्वाइस कल मात्र गर्ने गरेको देखिएको छ। ‘हनी ट्र्यापिङ’ गरी ठगी गर्ने उनी ‘नक्कली फेसबुक बनाएर प्रेम र विवाहको नाटक गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।