आचार्य बालकृष्णलाई विष खुवाउने आफ्नै पूर्वकर्मचारी !

काठमाडौँ,

आचार्य बालकृष्णलाई उहाँ निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किनु भएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिनु भएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । करिब दुई दिनसम्म उपचार गरी निवास फर्किनु भएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिनुभयो ।

अस्पताल भर्ना भएपछि भारतभर आचार्यको स्वास्थ्यलाभको कामना गर्दै उच्चतहका राजनीतिक नेता उहाँको निवास आउने गरेका छन् । मन्त्रीदेखि उच्च राजनीतिक तहका नेता उहाँलाई भेट गर्न हरिद्वार पुगेका थिए ।

भदौ १८ मा नेपाल आउँदै

यसैविच हत्या प्रयासबाट जोगिनु भएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आउनुहुने भएको छ । भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उहाँ नेपाल आउन लाग्नु भएको हो।
नेपाल समाचारपत्रबाट