मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता


यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ ।  

तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ । 

किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरुको भनाइ छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ । किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । नेपालीहरुको साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । 

फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताइन् । उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताइन् । तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ । 

घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताए । तिहारको बेलामा आफूले ५ हजारसम्म मखमली फूलका माला उन्ने गरेको बताए । उनले भने, ‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ । लगाएको उही नै हो । समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो । घरमा बसिरहनु भन्दा एउटा इलम गरे राम्रो हो । साउनदेखि नै शुरु गरेका छौँ । वैशाखमा रोप्ने, साउनदेखि उन्ने गरिरहेका छौँ । बजारका लागि हामी जानुपर्दैन घरमा नै लिन आउनुहुन्छ । ४/५ हजार माला बन्छ । धेरैजसो अर्मपर्ममा चल्छ, गाउँघरमा । लगानी त यसमा धेरै गर्नुपर्दैन । एकपटक रोप्नुपर्छ । १ रोपनी बराबर ३/४ हजार लगानी हुन्छ । लगभग डबल फाइदा हुन्छ ।’

त्यस्तै अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताइन् । उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको समेत बताइन् । उनले १ रोपनी जग्गामा फूल लगाउन ४ हजारसम्मको लगानी लाग्ने बताइन् । दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरेपनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने उनको भनाई थियो ।  

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरुको भनाइ छ । विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरु बताउँछन् । फूलको व्यापार र बजार बढेपनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन । 

Logo