विश्व किर्तिमानी नेपाली गीतकार

काठमाडौं,

नेपाली सांगीतिक क्षेत्रमा गीत लेखेर आफ्नो नाम विश्वमा लेखाउन सफल गीतकारको नाम हो– डा. डिआर उपाध्याय । उनले नेपाली गीत/संगीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको छ ।

६ गीति एल्बमका ३६ वटा गीत एकै पटक सार्वजनिक गरेका उपाध्यायले सोही कामका लागि लण्डनबाट विश्व किर्तीमानी गीतकारको सर्टिफिकेट प्राप्त गरे । गीत रिलिज ताका उनको कुनै त्यस्तो योजना थिएन । गीतै लेखेर विश्व रेकर्ड राखौंला भन्ने । तर, उनले एकै पटक ३६ गीत रिलिज गर्दासम्म एल्वमका रुपमा कसैले पनि उक्त काम नगरेको भन्दै उक्त रेकर्ड कायम सर्टिफिकेट प्रदान गरिएको हो ।

त्यसपछि उनले एउटै गीतमा ३ सय भन्दा बढी लोक बाजाहरुको प्रयोग गरेर गीत रेकर्ड गराए । उनको यो काम पनि ‘वल्र्ड बुक अफ रेकर्ड’मा दर्ता भयो । त्यसपछि फेरि उनले आठ फरक गीत आठ फरक बिटमा संगीत गरेर रेकर्ड गराए । नेपाली गीत संगीतका फरक फरक ६ कामका लागि ‘वल्ड बुक अफ रेकर्ड’मा आफ्नो नाम दर्ता गराएका गीतकार उपाध्यायले यसै हप्ता मुम्बई पुगेर सम्पूर्ण प्रमाणपत्र ग्रहण गरेका हुन् ।

एक भव्य कार्यक्रमकाबीच विश्व किर्तीमानी गीतकारका रुपमा प्रमाण पत्र बुझेर आएका गीतकार उपाध्यायले यस्तो काम धेरै पटक गर्न नसकिने बताएका छन् । गीत लेखेर पाएको यो पहिचानले आफूलाई निकै खुशी र गीत/संगीत प्रति अझैं जिम्मेवार बनाएको उनको भनाई छ ।