एकछिनको गल्तीले लाग्नसक्छ साइबर क्राइम मुद्दा !
  • कृष्णसिंह धामी

काठमाडौं । मेरो मोवाइलमा बिहान ४ बजेर १३ मिनेटमा एउटा म्यासेज आएको थियो । जुन मैले बिहान ७ बजेतिर मात्र देखेँ । त्यो म्यासेज सिन गर्दा मेरो दिमाग निकै तात्यो । नतातोस् पनि किन नाइँ, त्यो म्यासेजले मेरो फेसबुकमाथि ह्याकरको निशाना परेको जनाउ दिन्थ्यो । अर्थात् मेरो फेसबुक अरूले चलाएको संकेत दिएको थियो । त्यो म्यासेज हेरेर मैले तुरुन्तै फेसबुक खोलेँ । फेसबुक खुलेन । त्यसपछि मेरो दिमाग झन् तात्यो ।

एकैछिनमा खाना खाएर करिब ९ बजेतिर अफिस गएँ । अफिसमा भएका आईटी साथीहरूलाई जानकारी गराएँ । उनीहरूले फेसबुकको पासवर्ड नै अर्कोले परिवर्तन गरेको र त्यसलाई रिकभर गर्न समय लाग्ने बताए । एक दशकअगाडि याहूको आईडीबाट खोलिएको मेरो फेसबुक आईडीले याहूमा कोड पठायो । तर विडम्बना नत मलाई याहूको आईडी नै थाहा थियो नत त्यसको पासवर्ड । दिनभरको प्रयासमा पनि रिकभर गराउन केही सीप नलागेपछि आईटी साथीहरू पनि निरास देखिए ।

साथीहरूको अनुहारमा मलिनता देखेपछि मलाई अब फेसबुक खुल्न नसक्ने निष्कर्षमा पुग्न कुनै समय लागेन । अन्तिम विकल्पका रूपमा मैले प्रहरीलाई लिएको थिएँ । करिब १० घण्टाको बीचमा नत फेसबुकमा कुनै नयाँ पोष्ट गरिएको थियो । नत कसैलाई म्यासेज गरिएको थियो । त्यसको केवल पासवर्ड परिवर्तन गरेर छोडिएको थियो । त्यसको पासवर्ड फरगेट गरेर नयाँ पासवर्ड राख्न मलाई याहूको आईडी बिर्सेकाले समस्या परेको थियो ।

अन्ततः म बेलुका करिब ४ बजेतिर भोटाहिटीस्थित साईबर क्राइम ब्यूरोको अफिस गएँ । त्यहाँ एउटा निवेदन लेखेर दिएँ । त्यसपछि मेरो फेसबुक बनाउने काम सुरु भयो । त्यहाँका आईटीविज्ञ करिब ४५ मिनेटको अथक प्रयासपछि फेसबुकको पासवर्ड परिवर्तन गर्न सफल भए । मैले ती प्रहरी अधिकारीलाई हृदयदेखि नै धन्यवाद दिएँ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीको फेसबुक आईडीमा नराम्रो फोटो राखेर जे पायो त्यही लेखिएको थियो । जुन कुरा उनका दाजुले थाहा पाए । गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो ?’जवाफमा उनले ‘मलाई त केही थाहा छैन’ भनिन्, फोन काटियो । उनको एसईई परीक्षाको नतिजा आउन एक साता मात्र बाँकी थियो । उनले त्यो दिन पटक पटक बहिनीलाई फोन सम्पर्क गरे । मोबाइल अफ थियो । बेलुको एक्कासि बहिनीले आत्महत्या गरेको खबर आयो । ‘सबैको बूढी म’ नाम राखेर त्यो फेसबुकमा गोमाको तस्बिर राखिएको थियो ।

उक्त केसमा गोमाको फोटो राखेर नक्कली आईडी बनाइएको थियो । उक्त आईडी देखिसकेपछि दाजुले त्यो नचिनेको युजरलाई म्यासेज पनि पठाए, ‘किन यस्तो गरेको ? तँ को होस् ? कानुनी कारबाहीमा जाऊँ ?’ त्यो अज्ञात युजरले जवाफ फर्कायो, ‘जे गर्न सक्छस्, गर्। तँलाई केको मतलब ?’ त्यही साँझ करिब ६ बजेतिर घरमा कोही नभएको मौका पारेर गोमाले कोठामा पासो लगाएर आत्महत्या गरेकी रहिछन् । उनले मर्नुअघि सुसाइड नोट लेखेकी थिइन् । जसमा उनले लेखेकी थिइन्, ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ ।’

मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराउनेविरूद्ध भोटाहिटीस्थित साइबर अपराध ब्युरोमा उजुरी दिए । ब्युरोले केही दिनपछि नै फेक आईडी खोलेको मोबाइल नम्बर पत्ता लगायो । प्रहरीले केही नक्कली आईडी बनाउने युवराज कार्कीलाई पक्राउ गर्‍यो । उनले प्रहरीसँगको बयानमा आफूले गोमालाई माया गरेको र गफगाफ हुने गरेको बताए । पछि गोमा टाढिन खोजेर धोका दिन लागेकाले आफूले फेक आईडी खोलेर बदनाम गरेको बताए । युवराजको पोष्टले गोमा प्राण त्याग्न बाध्य भइन् ।

यस्तायस्तै समस्या लिएर दिनहुँ दर्जन बढी व्यक्ति भोटाहिटीमा रहेको साईबर क्राइम ब्यूरो पुग्ने गर्छन् । त्यहाँ आउने अधिकांश समस्या फेसबुकसम्बन्धीहुन्छन् । कोही आफ्नो अश्लील तस्बिर मागेर ब्ल्याकमेल गरिरहेको भन्ने गुनासो लिएर आउँछन् त कोही गालीगलौज गरिरहेको भन्ने समस्या लिएर आउँछन् । ब्यूरो अधिकारीहरू कुनै झर्को नमानी ती समस्याको समाधान गर्नतिर लाग्छन् ।

एकातिर ह्याक भएका फेसबुक एकाउन्ट रिकभर गराउनु उनीहरूको लागि चुनौतीको विषय बन्छ भने अर्कोतिर विद्युतीय कारोबार ऐन अन्र्तगत कारवाही प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । २०७५ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले ब्यूरो बनाउने सम्बन्धी निर्णय लिएको थियो । निर्णय भएको झण्डै ४ महिनापछि प्रहरी प्रधान कार्यालयमै ब्यूरोको कामकारवाहीको थालनी भएको थियो । डिआईजीको नेतृत्वमा एउटा टिम त्यो कामको लागि खटियो । त्यसको झण्डै चार महिनापछि भोटाहिटीस्थित सुविधासम्पन्न भवनमा ब्यूरो सर्‍यो ।

ब्यूरोले स्थापना भएको छोटो समयमा राम्रो काम गरेको छ । इन्टरनेट मार्फत हुने अपराधजन्य घटनालाई ब्यूरोले हेर्दै आएको छ । चालू आर्थिक वर्षको डेढ महिनाको अवधीमा एक सय ९७ वटा उजुरी परेका छन् । तीमध्ये ६ जनामाथि विद्युतीय कारोवार कसुर अन्र्तगत मुद्दा चलेको छ । जसमा तीनजना जेल सजाय भोगिरहेका छन् भने तीनजना अदालती प्रक्रियामा छन् । ६५ जनाको फेसबुक एकाउन्ट रिकभर हुन नसकेर बन्द गरिएका छन् । त्यस्तै युट्युबमा हुने कपीराइट, इमेल थ्रेट, इमेल फिसिङ लगायतका विद्युतीय कारोबार सम्बन्धी सम्पूर्ण समस्या लिएर ब्यूरो आउने गरेका छन् । उनीहरूको समस्याको समाधान गर्नु नै ब्यूरोको प्रमुख कर्तव्य हुन्छ ।

ब्यूरो प्रवक्ता एसएसपी नविन्द अर्यालले बढ्दै गएको इन्टरनेटको पहुँचका कारण यस्ता समस्या पनि बढ्दै गएको बताए । विशेषगरी यसबाट युवायुवती बढी पीडित हुने गरेका छन् । अर्को रोचक कुरा त के छ भने यस्तो समस्यामा भर्खर स्कूल पढ्दै गरेका विद्यार्थीदेखि लिएर ६०/६५ वर्षसम्मका वृद्धवृद्धा पनि पीडित भएका छन् ।

ब्यूरोले सम्बन्धित सामाजिक सञ्जालको केन्द्रीय कार्यालयसँगको समन्वयमा आफ्नो काम गर्दै आएको छ । फेसबुक, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालको नेपालमा कार्यालय नहुँदा अपराधजन्य घटना नियन्त्रण गर्न समस्या भइरहेको प्रवक्ता अर्यालको भनाइ छ ।

फेसबुकले जघन्य प्रकृतिका अपराधका घटनाबारे मात्र डिटेल पठाउँछ । अन्यको भने कुनै बेला रेस्पोन्स पनि नगर्ने गरेको अर्यालको भनाइ छ । यसबाट ग्रामीण भेगमा बस्ने महिलाहरू समेत पीडित बनेका छन् । उनीहरूले सुरुमा अरु कोही मान्छेसँग आईडी बनाइमाग्ने र पछि गएर ती व्यक्तिले ब्ल्याकमेलिङ गर्ने गरेको पनि पाइन्छ । विदेशमा रहेका आफ्ना मान्छेसँग सम्पर्क गर्न उनीहरूले त्यस्ता आईडी चलाउने गरेको र उनीहरूलाई बढी ज्ञान नहुँदा अर्को मान्छेले दुरुपयोग गर्ने गरेको पनि देखिएको प्रवक्ता अर्यालले बताए ।

साइबर अपराधजन्य घटनामा प्रेमीप्रेमिकाबीच हुने मनमुटाव तथा सीमित स्वार्थको लागि लाग्ने महिला पुरुषबाट यसको बढी दुरुपयोग भइरहेको अर्यालको भनाइ छ । उनी भन्छन्, नेपालमा बढीजसो सामाजिक सञ्जालमा फेसबुकबाटै बढी अपराधजन्य घटना भइरहेका छन् । धेरैजसोका पहुँचमा फेसबुक छ, अनि यसले अपराधलाई पनि बढी सघाइरहेको छ ।

प्रहरीको तथ्यांकअनुसार एक वर्षमा दुई हजार दुई सय ९ वटासाइबर अपराधका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७४–७५ मा एक हजार छ सय ९४ मुद्दा दर्ता भएका थिए । त्यसको अघिल्लो वर्ष ०७३–०७४ मा एक हजार एक सय १८ वटा मुद्दा दर्ता भएका थिए ।

विदेश गएकालाई बढी समस्या

झापाकी सीता भुजेल (नाम परिवर्तन) का श्रीमान तीन वर्षअघि वैदेशिक रोजगारीमा गए । उनी घरमा एक छोरा र एक छोरीको स्याहारसुसारमा रहिन् । श्रीमान विदेश जाने क्रममा सीता रोएर मुर्छा नै परिन् । श्रीमान विदेश गएको केही महिनापछि उनलाई एउटा फेसबुक रिक्वेस्ट आयो । उनले चिनजानेकै जस्तो लागेर एक्सेप्ट गरिन् । दुवै जनाबीच म्यासेन्जरमा कुराकानी हुन थाल्यो । विस्तारै विस्तारै उनीहरूबीच अन्तरंग कुराकानी समेत हुन थाले । त्यहीबीच उनीहरू दुवैजनाबीच भेटघाट पनि भयो । भेटपछि सीताले आफ्नो श्रीमानलाई भन्दा ती युवकलाई सम्पर्क गर्न थालिन् । ती युवकले एकदिन काठमाडौं बोलाए ।

काठमाडौं आएर उनीहरू दुवैजना होटलमा बसे । त्यहाँ दुवैजनाबीच शारीरिक सम्बन्ध समेत भयो । त्यो क्षण युवकले आफ्नो मोवाइलमा कैद गरे । पछि ती युवकले उनलाई त्यही भिडियो देखाएर व्ल्याकमेलिङ गर्न थाले । सीताले पनि ती युवकले जे भन्यो त्यही मान्दै गइन् । श्रीमानले विदेशमा कमाएर पठाएको १० लाखभन्दा बढी पैसा उनले त्यही युवकलाई दिएर सकिन् । अन्तमा उनलाई नत श्रीमानले साथ दिए न त ती युवकले अपनाए ।

वैदेशिक रोजगारीमा जाने धेरैजसोको यस्तै समस्या छ । सीता केवल एउटा प्रतिनिधि पात्र हुन् । उनीजस्ता हजारौं सीताहरू विदेशमा श्रीमानले कमाएको पैसा मोजमस्तीमा उडाउने र प्रेमी बनाएर घरबार बिगार्ने गरिरहेका छन् । त्यसो हुनुमा सामाजिक सञ्जालको भूमिका छ । सामाजिक सञ्जाल मार्फत नयाँ नयाँ साथी बन्ने र अन्तमा फसाउने गरेको ब्यूरो डिआईजी विकास श्रेष्ठको भनाइ छ । यस्ता घटनाबारे प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

त्यस्तै लिभिङ टुगेदरमा बस्नेहरूका कारण पनि समस्या भइरहेको छ । यसको पछाडि पनि फेसबुक नै कारक बन्ने गरेको छ । मन मिलेर विवाह नै नगरी लिभिङ टुगेदर बस्ने, त्यतिबेला विभिन्न तस्बिर खिच्ने गरिन्छ । कतिपय अश्लील तस्बिर पनि खिचिएका हुन्छन् । सम्बन्ध बिग्रेपछि त्यही तस्बिर प्रयोग गरी ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्दो रहेको डिआईजी श्रेष्ठ बताउँछन् । लिभिङ टुगेदारकै कारण विभिन्न आपराधिक घटनासमेत हुने गरेकाछन् ।

कसरी सचेत गराइदैछ ?

सामाजिक सञ्जालकै विषयलाई लिएर श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद समेत हुने गरेको छ । फेसबुकको पासवर्ड दिने–नदिने विवाद हुँदा कुटाकुट भएर प्रहरीसम्म पुग्नेहरू बढ्न थालेका छन् । फेसबुकमै हुने कुराको शंकाले ठूलै रूप लिएको देखिन्छ । श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीको अरूसँग प्रेम सम्बन्ध भएको र पछि त्यही प्रेम सम्बन्धले अपराधको रूप लिने गरेका कैयौं घटना पनि समयसमयमा सार्वजनिक हुने गरेका छन् ।

सामाजिक सञ्जालबाट हुने यस्ता विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले दुई किसिमले काम गरिहेको छ– एउटा घटनापूर्व (proactive policy) र अर्को घटना भइसकेपछि (Reactive policy) । घटना हुनुभन्दा पहिला जनचेतना फैलाउने काम भइरहेको छ ।

सामाजिक सञ्जालबाट हुने बेफाइदा, यसको असर लगायत विषयमा जनचेतना फैलाइएको प्रवक्ता अर्यालको भनाइ छ । विद्यालय तथा समुदायमा गएर जनचेतना फैलाउने, विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रसारित गर्नेजस्ता काम हुँदै आएको छ । त्यसैगरी घटनापछि हुने कानुनी प्रक्रिया पनि ब्यूरोले गर्दै आएको छ । जसमा घटनासम्बन्धी उजुरी परेपछि अनुसन्धान गर्ने, कारवाही गराउनेजस्ता काम भइरहेको प्रहरीले बताएको छ ।