रामबाबुले जब सालीलाई बिहेमा मोटरसाइकल दाइजो दिएको देखे

रौतहट । राजपुर नगरपालिका ७ अकोलवाका रामबाबु सहनी केही महिना अघि सालीको विहेमा गए । २५ वर्षीया श्रीमती सन्जु देवी सहनीको कान्छी बहिनीको बिहेमा ससुराले मोटरसाइकल दाइजो दिएको देखे । त्यसपछि उनी श्रीमतीलाई माइतीबाट मोटरसाइकल दाइजो माग्न दबाब दिन थाले ।

त्यसपछि सन्जुलाई मोटरसाइकल दाइजो माग्न श्रीमतीमाथि कुटपिट पनि गर्न थाले । त्यसमा उनलाई ससुरा पनि साथ दिएर मानसिक तथा शारीरिक यातना दिन थाले । आमाबुवाले जेठी छोरी सन्जुको बिहेमा केटा पक्षले मागे जति दाइजो दिएका थिए । कान्छी छोरीको बिहेमा मोटरसाइकल दिएको र आफुलाई पनि त्यही दाइजो माग गर्दै रामबाबु श्रीमतीलाई यातना दिन थाले ।

यातना दिँदै आएका रामबाबुले अन्ततः श्रीमतीको हत्या नै गरेका छन् । मृतक सन्जुका बुवा अविलास सहनीले ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै यातना दिने गरेको प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

बिहीबार दिउँसो सन्जुको ज्यान गएको थियो । सन्जुको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको दाबी गर्दै प्रहरीमा ज्वाई र ज्वाईका बुवाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको सहनीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको छ । घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।